काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो। यो प्रधानमन्त्री शाहको पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणसमेत हो।
प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि उहाँ असोज ७ गते (२३ सेप्टेम्बर) न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले स्वागत गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग पुग्नुहुनेछ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमण तथा कार्यक्रमबारे उहाँलाई ब्रिफिङ गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले असोज ८ गते (२४ सेप्टेम्बर) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। त्यसलगत्तै उहाँले महासभाको सामान्य बहसमा नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।
महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर, जलवायु न्याय तथा विपद्पछिको पुनर्निर्माणका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी छ।
प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा हुँदै नेपाल फर्किने कार्यक्रम छ। दोहामा उहाँलाई नेपाली अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
Advertisement
तपाईको प्रतिक्रिया