विराटनगर । भोटेकोशी बाढीमा परेर एक महिनादेखि बेपत्ता रहेकी विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौलाले लोकसेवा आयोगको लिखित परीक्षामा सफलता हासिल गरेकी छन्।
अपर त्रिशूली–१ आयोजनामा कार्यरत ऋचा भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएकी हुन्। परिवारले उनको खोजी र खबरको प्रतीक्षा गरिरहेका बेला बिहीबार सार्वजनिक लोकसेवा आयोगको सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाको नाम भेटिएको हो।
नतिजामा ऋचा १२औँ क्रमसंख्यामा छिन्। उनले गत असार ६ गते पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन्। पहिलो प्रयासमै लिखित परीक्षा उत्तीर्ण गरेको खबरले छोरीको खोजीमा रहेका परिवारलाई खुसीभन्दा पीडा थपेको छ।
‘छोरीले पहिलो प्रयासमै लोकसेवा पास गरेको खबर आयो, तर ऊ कहाँ छे भन्ने थाहा छैन,’ ऋचाका बुबा लीलाप्रसाद निरौलाले भने, ‘यो खबरले खुसी हुने कि दुःखी हुने, हामी अन्योलमा छौं।’
तीन सन्तानमध्ये ऋचा कान्छी हुन्। करिब ६ महिनाअघि मात्रै उनी आयोजनामा काम गर्न रसुवा पुगेकी थिइन्।
बाढीपछि ऋचाको मोबाइलको लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि उनको मोबाइल स्विच अफ छ। परिवारले उनको अवस्था पत्ता लाग्ने आशामा खोजी जारी राखेको जनाएको छ।
भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
Advertisement
तपाईको प्रतिक्रिया