काठमाडौं । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राही तोकिएको छ ।
मापदण्डअनुसार आधारभूत तहका विद्यार्थीलाई प्रचलित कानुनअनुसार निःशुल्क शिक्षाका साथै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि स्थानीय तहमार्फत नगदसहितको सुविधा उपलब्ध गराइनेछ ।
कक्षा १ देखि ५ र ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीले तोकिएअनुसारको सुविधा पाउनेछन् । माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० तथा कक्षा ११ र १२ का विद्यार्थीलाई पनि पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि नगद उपलब्ध गराउने व्यवस्था गरिएको छ।
स्नातक तहमा अध्ययन गर्ने लाभग्राहीका लागि विश्वविद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति कोटामा निश्चित कोटा आरक्षण गर्नुपर्नेछ । आरक्षित कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
त्यस्तै, संस्थागत विद्यालयले कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा पनि लाभग्राहीलाई समावेश गर्नुपर्नेछ ।
निःशुल्क शिक्षाका लागि आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ । स्नातक तहका विद्यार्थीले भने सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ ।
आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित हुने कागजात र अध्ययनरत संस्थाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले मापदण्ड तयार गरेको जनाएको छ ।
जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
Advertisement
तपाईको प्रतिक्रिया