काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको छ । उनलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।
असोज ५ गतेदेखि ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटी बैठक बिहीबार सम्पन्न भएको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
बैठकले सात जनालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ । स्थायी कमिटीमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन् ।
त्यस्तै, बैठकले केन्द्रीय कमिटीमा विभिन्न नेताहरूलाई मनोनित गरेको छ । मनोनित हुनेमा प्यूठानबाट हरि रिजाल र धर्म गिरी रहेका छन् । चितवनका काशीनाथ अधिकारी, झापाका देवराज घिमिरे, ताप्लेजुङका पासाङ शेर्पा, इलामका नरेन्द्र भट्टराई, खोटाङका नन्दराम देवकोटा, जाजरकोटका नारायण घर्ती, काठमाडौंका विद्यासुन्दर शाक्यलगायत छन् ।
पार्टीमा समायोजन भएका विभिन्न समूहका नेताहरूलाई पनि केन्द्रीय सदस्य बनाइएको एमालेले जनाएको छ । यस सूचीमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अन्सारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडीलगायत छन् ।
बैठकले स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, केन्द्रीय सल्लाहकार परिषद्, विभागहरू तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठनको निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा प्रस्तुत भएको दाबी गरे । उनले बैठकका निर्णय कार्यान्वयन गर्दै पार्टीलाई पुनर्जागरण र सुदृढीकरणतर्फ अघि बढाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
बैठकले भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै, भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्नुपर्ने मागसमेत गरेको छ ।
एमालेले महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति र कर वृद्धिबारे पुनरावलोकन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । संविधान, लोकतन्त्र र मानव अधिकारको रक्षा गर्दै राष्ट्रिय हितका विषयमा सबै लोकतान्त्रिक तथा संविधान पक्षधर शक्तिसँग संवाद र सहकार्य गर्न आह्वान गरेको छ ।
बैठकले आगामी निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशनसमेत दिएको छ ।
एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
Advertisement
तपाईको प्रतिक्रिया