काठमाडौं । सरकारले नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत लाइसेन्स छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार नयाँ प्रणालीमा सेवाग्राहीको विवरण अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ । सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ । नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने र पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीलाई सहज र छिटो सेवा दिन सहयोग पुग्ने विभागको भनाइ छ । पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार मधेश प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ । लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ ।
अन्य प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिने व्यवस्था गरिएको छ ।
नयाँ प्रणाली लागू भएपछि प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको विभागले जनाएको छ ।
नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
Advertisement
तपाईको प्रतिक्रिया