प्यूठान । रोल्पाकी ३२ वर्षीया महिलाले प्यूठान जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।
लुङ्ग्री गाउँपालिका–३ की यामसरी रोका बिहीबार अपराह्न ५ बजे बेथा लागेपछि अस्पताल भर्ना भएकी थिइन् । उनले साँझ ९ः५० बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।
उपचारमा संलग्न चिकित्सक डा. सन्तोष केसीका अनुसार तीनै शिशुको जन्म सामान्य रूपमा भएको हो । तीनमध्ये पहिलो छोराको तौल १ हजार ८ सय ग्राम, छोरीको १ हजार ६ सय ग्राम र अर्को छोराको तौल १ हजार ३ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।
डा. केसीका अनुसार आमा र तीनै नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Advertisement