काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही सूचक कमजोर रहे पनि वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको दाबी छ।
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’को पहिलो कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रका चुनौतीबारे बोल्दै अर्थसचिव उपाध्यायले यस्तो बताएका हुन्।
उनका अनुसार नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि अपेक्षाकृत सुस्त छ। पछिल्ला २५ देखि ४० वर्षको औसत आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम रहेको र कोभिड–१९ महामारीका क्रममा आर्थिक वृद्धि ऋणात्मक भएको उनले उल्लेख गरे।
अर्थसचिव उपाध्यायले कमजोर निजी लगानी, घट्दो पूँजीगत खर्च, उच्च व्यापार घाटा र न्यून उत्पादकत्वलाई अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। स्वदेशी निजी लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीको वातावरण सुधार गर्नुपर्ने उनको भनाइ छ।
सरकारले पूँजीगत खर्च प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सहयोग पुग्ने उनले बताए।
नेपालको वैदेशिक व्यापारमा करिब ९० प्रतिशत आयात र १० प्रतिशत मात्रै निर्यात हुने अवस्था रहेको उल्लेख गर्दै उनले उत्पादन र निर्यात बढाउनुपर्नेमा जोड दिए।
यद्यपि, रेमिट्यान्स वृद्धि, जलविद्युत् विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलतालाई अर्थतन्त्रका सकारात्मक पक्षका रूपमा उनले प्रस्तुत गरे। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै त्यसलाई उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने उनले बताए।
रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुग्ने उनको भनाइ छ। सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।
नेपालले जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने र वैदेशिक रोजगारीलाई सीप तथा उच्च आम्दानीमा आधारित बनाउनुपर्नेमा पनि उनले जोड दिए।
अर्थसचिव उपाध्यायले आर्थिक विकासका लागि सुशासन, लगानीको वातावरण सुधार र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको बताए। उनका अनुसार अर्थतन्त्रका सबल पक्षलाई उत्पादन, उत्पादकत्व, रोजगारी र औद्योगिकीकरणमा रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती हो।
‘मध्यम वर्गका उद्यमी सबैभन्दा बढी मारमा’
नेपाली उद्यमी मञ्चका अध्यक्ष आभूषणज्योति कंसाकारले राज्यका नीतिहरूले धनी र गरिब वर्गलाई मात्रै केन्द्रमा राख्ने गरेको भन्दै मध्यम वर्गका उद्यमी तथा व्यवसायीका समस्यालाई पनि सम्बोधन गर्नुपर्ने बताए।
उनले पछिल्लो समय मध्यम वर्गका उद्यमी व्यवसायीहरू ठूलो समस्यामा परेको उल्लेख गरे। ‘जेनजी मुभमेन्ट’ र भोटेकोशी बाढीका कारण कतिपय व्यवसायीको सम्पत्ति गुमेको, बीमा दाबीको भुक्तानी हुन नसकेको तथा बाँकी सम्पत्ति बैंकमा धितो रहेका कारण थप लगानीका लागि पूँजी अभाव भएको उनको भनाइ थियो।
यस्तो अवस्थामा सरकारले मध्यम वर्गका व्यवसायीलाई पुनः व्यवसायमा फर्कने वातावरण बनाउनुपर्ने उनले बताए।
‘नीति र युवा उद्यमीबीचको खाडल पुर्न थिंक ट्यांक’
नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरका अध्यक्ष अनुकुल श्रेष्ठले सरकारका नीति तथा कार्यक्रम र युवा उद्यमीका सरोकारबीच ठूलो खाडल रहेको बताए।
उक्त खाडल पुर्न नीतिगत बहस आवश्यक रहेको भन्दै उनले त्यसकै उद्देश्यले ‘थिंक ट्यांक सिरिज’ सुरु गरिएको जानकारी दिए।
यो पहिलो कार्यक्रम भएको र आगामी दिनमा पनि युवा उद्यमीका समस्या, आर्थिक नीति तथा निजी क्षेत्रका सरोकारबारे निरन्तर नीतिगत बहस सञ्चालन गरिने उनले बताए।