काठमाडौं । सरकारले खेलकुद क्षेत्रको विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ ।
खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
मन्त्री पोखरेलले सरकारले ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खेलकुद पूर्वाधार निर्माणलाई अघि बढाएको बताए ।
‘पहिलेदेखि नै देखेको ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने सपना पूरा गर्ने दिशामा हामी एक कदम अघि बढेका छौं,’ उनले भने ।
उनका अनुसार पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल निर्माणलाई प्राथमिकता दिइएको छ । यी पूर्वाधारबाट विभिन्न खेल सञ्चालन गर्न सकिने गरी निर्माण गरिने उनले बताए ।
मन्त्री पोखरेलले विद्यालय तहदेखि नै खेलकुदप्रति आकर्षण बढाउन पाठ्यक्रममा खेलकुदलाई जोड्ने योजना अघि बढाइएको जानकारी दिए। पाठ्यक्रम पुनर्निर्माणका क्रममा खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने गरी कार्यदलमा खेलाडीलाई समेत समावेश गरिएको उनले बताए ।
‘नेपालका विभिन्न प्रदेश र जिल्लामा खेलकुद पूर्वाधार राम्रो नभएकाले ग्रासरुटबाट खेलाडी उत्पादन गर्न सकेका छैनौं,’ उनले भने, ‘त्यसैले तल्लो तहदेखि नै खेलकुद पूर्वाधारमा लगानी गर्न लागेका हौं ।’ राखेपका सदस्यसचिव मेहताले अत्याधुनिक खेलकुद पूर्वाधार निर्माणका लागि भएको साझेदारीले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
तीन वर्षभित्र १० फुटबल रंगशाला स्तरोन्नति गर्ने लक्ष्य
सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माणसँगै विद्यमान पूर्वाधारको मर्मत, सम्भार, पुनर्निर्माण, स्तरोन्नति तथा सुदृढीकरणलाई प्राथमिकता दिएको छ । बजेटमा आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालासहितका खेलकुद पूर्वाधार स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी, प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा आगामी तीन वर्षभित्र कम्तीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने लक्ष्य पनि बजेटमा समेटिएको छ ।
मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानीको मोडालिटी तय गर्ने विषयसमेत बजेटमा उल्लेख छ ।