अर्घाखाँची ।ऊर्जा जल स्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले चुच्चे नक्सा ल्याएदेखि प्रचण्ड–माधवहरू प्रधानमन्त्री विरुद्ध लागेको बताउनुभएको छ ।
प्रेस संगठन अर्घाखाँचीले आईतबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीको लोकप्रियताबाट डराएर चुच्चे नक्सा आएदेखि पार्टीमा अनेक बाहान बनाएर प्रचण्ड माधवले प्रधानमन्त्रीलाई काम गर्ने वातावरण नै नदिएको बताउनुभयो ।
नेकपा स्थायी समिति सदस्यसमेत रहनुभएका रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को काम नै पार्टी फुटाउने र सरकार गिराउने भएको बताउनुभयो । प्रचण्ड सरकार ढाल्न खपिस रहेको भन्दै उहाँले भन्नुभयो ‘ प्रचण्डले ९ पटकसम्म सरकार ढालेर देशमा अस्थिरता ल्याउनु भो, प्रचण्डको काम नै पार्टी फुटाउने र सरकार गिराउने मात्र भयो।’
ओलीलाई सडकमा पुर्याउछु भन्दा आफै सडकमा
रायमाझीले प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउन भन्दा आफै पुसको जाडोमा सडकमा बस्नु परेको बताउनुभयो ।
प्रचण्ड–माधव नेपालहरू पार्टी विभाजन गर्नु गल्ती भएको भन्दै उनीहरू गल्ती स्विकार्दै केपी ओलीसँग माफी माग्न आउने नेता रायमाझीले बताउनुभयो । मन्त्री रायमाझीले अब लोडसेडिङ नहुने पनि स्पष्ट पार्नुभयो । मन्त्री रायमाझीले संसद् पुनः स्थापन हुन नसक्ने भन्दै सरकारका कारण निर्वाचनको कार्य तालिका हेरफेर नहुने स्पष्ट पार्नुभयो ।