सरकार
बचपनमा मैले भित्ताको माटो
कोपरेर खाँदा मलाई माटे भन्थे
अहिले छिमेकीले हाम्रो देशको माटो खाएर हामीलाइ चामल
पठाएको छ
हामी हाम्रै देशको
माटो खाएर मर्न चाहन्छौ ,
छिमेकीको चामल खाँदा खाँदा
हामीलाइ मधुमेह भैसक्यो
सायद यो छिमेकीको रणनीति पनि हो
मधुमेहको दवाइ उतैबाट पठाउने ,
हामीलाई फेरि उही कालापानीको
पानी पिउनु छ
महाकालीको पानीले
भिजाउनु छ माटो
अनि अलि नरम बनाएर
माटो खानु छ
किनकी हाम्रो स्वाभिमान
साह्रो भैसकेछ
हाम्रो इतिहासका दातहरु
झरिसकेछन
एक युग बुढो भैसकिएछ
सरकार तलाई
वालुवाटारमा निदाउन सजिलो त होला
तर हामीलाई छिमेकीले आफ्नै आँगनमा चलाएको डोजरको आवाजले रातभर निदाउन दिँदैन।
Advertisement
– मिराज
तम्घास ,गुल्मी