सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९, सिपाटारबाट काठमाडौं जान आउन एउटा मात्र बस चल्छ । अरुबेला पनि एउटा बसमा यात्रु खचाखच हुन्छ । अहिले दसैंको बेलामा त बल्लतल्ल समाउन मात्र सकिन्छ । बसमा खुट्टा हाल्ने ठाउँ पाए मात्र पनि स्वर्ग पुगिएझै लाग्छ । शुक्रबार पनि तछाड मछाड गर्दै सबै जना बा २ ख २७१५ नम्बरको हेलम्बु यातायातको बसमा चढे । पाँचखाल नगरपालिका –६, काभ्रेकी २२ वर्षीया संगीता मिजार पनि दसैंको टिका लगाएर घर फर्किन बस चढिन् । उनी बस चढेको एक घण्टा पनि हुन नपाउँदै सो बस दुर्घटना भयो । उनले घटनास्थलमै ज्यानमै गुमाइन् ।ललितपुर घर भएकी ४७ वर्षीया समिता श्रेष्ठ र बाह्रबिसे नगरपालिका –७ की अस्मिता श्रेष्ठको पनि सोही दुर्घटनामा परी मृत्यु भयो । उनीहरु दसैंको टीका लगाउन माइत आएका थिए । उनीहरुको निधारमा टीका लगाएको टीका खस्न नपाउँदै उनीको जीवनको टीका सधैंका लागि खस्यो ।उनीहरु जस्तै सो दुर्घटनामा परी १२ जनाले ज्यान गुमाए । अन्य ९८ जना घाइते छ । घाइतेमध्ये धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालस्थित ट्रमा सेन्टर र काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।बा २ ख २७१५ नम्बरको बस शुक्रबार ९ः१५ मा इन्द्रावती–१० को तिखु मोड भन्ने स्थानमा सडकबाट करिब दुई सय मिटर तल खस्दा चालकसहित १२ जनाको मृत्यु भएको हो । मृतक मध्ये पाँच जनाको घटनास्थलमा र अन्यको अस्पताल तथा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज काफ्लेले निशान न्युजलाई जानकारी लिए ।दुर्घटनामा परी बनेपा नगरपालिका –३ काभ्रेका चालक केदारनाथ महाजु, इन्द्रावती –९ का ४५ वर्षीय हिरा श्रेष्ठ, २५ वर्षीय विनोद लम्साल, इन्द्रावती –१० का २९ वर्षीय रितेश आचार्य, पाँचखाल नगरपालिका –६, काभ्रेकी २२ वर्षीया संगिता मिजारको घटनास्थलमै मृत्यु भएको थियो ।मेलम्ची नगरपालिका –१३ का २० वर्षीय अनुश तामाङ, इन्द्रावती –१० का २३ वर्षीया मिना मगर, ३९ वर्षीय सुवास अधिकारी, ६ वर्षीय बालक सुमित पुर्कोटी तथा इन्द्रावती –९ की ४४ वर्षीया जुनादेवी लम्साल तथा माइती आएकी बाह्रबिसे नगरपालिका –७ की अस्मिता श्रेष्ठको मृत्यु भएको छ ।दुर्घटनामा ५८ जना यात्रु घाइते छन् । हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्याइएका घाइतेमध्ये सबै भन्दा बढी संख्यामा धुलिखेल अस्पतालमा ६७ जनाको उपचार भइरहेको छ । शिर मेमोरियल अस्पताल बनेपामा १६ तथा वीर अस्पतालस्थित ट्रमा सेन्टरमा १५, काठमाडौं मेडिकल कलेजमा एक तथा नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।क्षमता भन्दा बढी यात्रु बोकेको बस ओरालो सडकमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । एक मात्र सार्वजनिक बस चल्ने उक्त गाउँबाट दसैं मनाएर काममा राजधानी फर्कने तथा आफन्तकहाँ दसैंको टीका लगाएर फर्कनेका कारण बसमा अत्याधिक भार थियो । अत्याधिक भार र पुरानो इन्जिन भएको बस भएकाले ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।श्रोत: निशान न्युज
सिन्धुपाल्चोक बस दुर्घटना:निधारको टीकासँगै भीरमा खस्यो जीवन
सिन्धुपाल्चोक बस दुर्घटना:निधारको टीकासँगै भीरमा खस्यो जीवन

Advertisement
तपाईको प्रतिक्रिया