दाङ ।वन क्षेत्रमा हुने आगलागीका घटना हुन नदिन दाङमा लाखौं रुपैयाँ खर्च हुँदै आए पनि आगलागीका घटना भने रोकिएको छैन । गर्मी मौसमसँगै हावाहुरीका बेला लाग्ने आगोले बर्षेनी सयौँ हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ । यस वर्ष पनि अहिले जिल्लाका एक दर्जन बढी वन क्षेत्रमा आगलागी भैरहेको छ । दाङ जिल्लाका बस्तीहरुसँगै वन क्षेत्र पनि आगलागीका उच्च जोखिममा छन् ।
घोराही उपमहानगरपालिका–४ मा रहेको पालुथान सामुदायिक वन, रामपुर क्षेत्रको सरयू सामुदायिक वन, पाण्डवेश्वर मन्दिरको धार्मिक वन, धर्नाको जनभावना सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रमा आगलागी भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
देउखुरीका केही वन क्षेत्र र बाँके राष्ट्रिय निकुन्जको दाङ खण्डमा पनि आगो लागेको उहाले बताउनुभयो। आगलागी हुँदा वन्यजन्तु मर्ने र वन मासिँदै आएको छ । आगो नियन्त्रणका लागि सचेतनामूलक तालिम, होडिङबोर्ड राख्ने, पर्चाहरु बितरण गर्ने र उपभोक्ताहरुलाई सचेत गराउने काम भएको उहाले बताउनुभयो ।
वन जंगल र जीवजन्तुको नाशसँगै गाउँहरु नै जोखिममा पार्ने आगो लगाउनेको पहिचान भने अहिलेसम्म कसैले गर्न सकेका छैनन् । वन डिभिजन र सामुदायिक वन उपभोक्ता महासंघले पनि आगो लगाउनेलाई पक्राउ गर्न नसक्दा बर्षेनी आगलागीको जोखिम बढ्दै गएको छ । आगो लगाउनमा संलग्नको पहिचान भए वन ऐन २०४९ ले क्षतिको विगो भराउने, एक बर्ष कैद र १० हजार जरीवाना र दुबै हुन सक्ने व्यवस्था गरेको छ । आगलागीलाई वन अपराधका रुपमा कानुनमा उल्लेख छ ।