काठमाडौं : कामना न्युज पब्लिकेशनद्वारा प्रकाशित नेपाल समाचार पत्र दैनिकका प्रधान सम्पादक पुस्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजेर ४९ मिनेट जाँदा प्रधान सम्पादक श्रेष्ठको निधन भएको कामना न्युज पब्लिकेसन प्रालिले जनाएको छ ।पत्रकारिता तथा लेखनमा लामो समय विताएका श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको हो।
पाँच महिनाअघि मृगौलाको पत्थरीको शल्यक्रिया गरेपछि उनलाई विभिन्न स्वास्थ्य समस्याले सताएको थियो । पछिल्लो समय स्वास्थ समस्या बढ्दै गएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको जनाइएको छ ।
रंगपत्रकारिताबाट पत्रकारितामा प्रवेश गरेका श्रेष्ठ कामना ग्रुप पब्लिकेशनका संस्थापक अध्यक्ष हुन्। उनले नेपाल समाचारपत्रकासाथै कामना मासिक, साधना मासिकलगायतको पनि सम्दकीय भूमिका निर्वाह गरेका थिए ।
थुप्रै पुस्तक लेखेका उनले प्रवल गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट लगायत डेढ दर्जनभन्दा बढी पदक तथा विभूषण प्राप्त गरेका छन् । श्रेष्ठका एक श्रीमती र ३ छोरा छन् ।