धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले बुधवार धनगढीस्थित सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भरत शाहलाई सेवाग्राहीबाट ३० हजार घुस लिइरहेको अवस्थामा घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर बिष्टका अनुसार सहायक वन अधिकृत शाहले काठ सम्बन्धी मुद्धामा थुनामा परेका एक जनाको फाइललाई सहज बनाई दिने भन्दै घुस मागेका थिए । सोही क्रममा बिचौलिया पुष्प जोशीमार्फत घुस लिइरहेको अवस्थामा नियन्त्रण लिएको अख्तियारका सूचना अधिकारी बिष्टले जानकारी दिए । नियन्त्रणमा रहेका शाहलाई थप अनुसन्धानको लागि अख्तियारको मुख्यालयमा पठाइने र घुस सम्बन्धी मुद्धा चलाइने जनाइएको छ ।
Advertisement