कपिलवस्तु – जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. २ बाट लागुपदार्थसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना शोहरतगढ ग्राम चेतराका २७ वर्षीय मुकेश चौरसिया रहेका छन् । आईतबार इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा लागुपदार्थसहित निजलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताउनुभएको छ । भारतबाट नेपालतर्फ लागुपदार्थ ल्याउने क्रममा पक्राउ गरिएको चौरसियाको साथबाट १० किलो २२ ग्राम चरेश र ११ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । चौरसियालाई कपिलबस्तु जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
Advertisement