प्युठान। ऐरावती गाउँपालिका–४, तिल्केनीमा जन्मिएका २६ वर्षीय प्रेमबहादुर विश्वकर्माको कथा साधारण छैन। यो कथा अभाव, संघर्ष र सम्भावनाले बनेको कथा हो।
प्रेमका बुवा ओमबहादुर विश्वकर्मा २०५५/५६ सालदेखि तत्कालिन नेकपा माओवादीको शस्त्र विद्रोहमा होमिएका थिए। उनी पूर्णकालीन कार्यकर्ता बने। गणतन्त्र आयो, व्यवस्था फेरियो। तर बुबाको जीवन फेरिएन। उनी फेरि ज्यालामजदुरीमै फर्किए।
पाँच सन्तान, श्रीमती र आफू गरी सात जनाको परिवार पाल्दै आएका ओमबहादुरको २०६८ पुस २८ गते, छिमेकी गाउँमा कामका लागि जाँदै गर्दा बाटोमै दुर्घटनाले ज्यान लियो। परिवारको सहारा ढल्यो।
“रासन सकिएर कयौँ रात भोकै सुत्यौँ,” प्रेम आज पनि सम्झन्छन्।
घरमा खेती थियो, तर आर्थिक अवस्था कमजोर। त्यसैले प्रेम १२ वर्षकै उमेरमा रोजगारीका लागि भारत गए। पढाइमा उत्कृष्ट विद्यार्थी भए पनि बाध्यताले किताब छोड्नुपर्यो।
झण्डै एक वर्षपछि आमाले कुवेत जाने निर्णय गरेपछि प्रेम नेपाल फर्किए। फेरि विद्यालय पुगेर पढाइमा लागे। फेरि सपना देख्न थाले।
संघर्षले उनलाई रोक्न सकेन। निरन्तर मेहनतका साथ उनले स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्नातक तहमा क्याम्पस टप गरे।
हाल उनी छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।
पढाइसँगै उनी समाजमा पनि सक्रिय रहे।
२०७३ चैत १८ गतेदेखि जिल्ला बालसञ्जाल प्युठानको अध्यक्ष बनेर बालविवाह अन्त्य, बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा काम गरे।
विद्यार्थी राजनीतिमा पनि अग्रपङ्क्तिमा देखिए।
तीन वर्षभन्दा बढी समय अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्ष बनेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे।
हाल उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्।
अब उनको संघर्षले नयाँ मोड लिँदैछ।
नेपाली कम्युनिस्ट पार्टी, प्युठानले फागुन २१ गते हुने निर्वाचनका लागि प्रेमबहादुर विश्वकर्मालाई प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।
सिफारिस हुनेमा प्रेमसहित लिलामणि पोख्रेल,कृष्णध्वज खड्का,अर्जुन कुमार कक्षपती,भोजविक्रम बुढामगर,मिलन एमसी,उमाराम पौडेल छन।
सात जनामध्ये एक जनाको नाम पार्टी केन्द्रले अन्तिम निर्णय गर्नेछ।
संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार
संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार
Advertisement
तपाईको प्रतिक्रिया