भालुवाङ । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहोर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान भीषण आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट ट्रस्ट भवनसहित विभिन्न ठूला–साना मेसिन, टायल तथा इन्टरलक पूर्णरूपमा जलेर नष्ट भएका छन्। स्थानीय तहले प्रारम्भिक रुपमा आगलागीबाट करोडौंको भौतिक क्षति भएको अनुमान गरेको छ।
दमकल, सुरक्षा निकाय र स्थानीयको सहयोगमा नियन्त्रण
आगो नियन्त्रणका लागि गढवा नगरपालिकाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीका अनुसार आगलागीको कारण अझै पुष्टि भएको छैन।
‘अनुसन्धानपछि मात्र स्पष्ट हुन्छ,’ ऐरीले भने।
वडा अध्यक्षले गरे जानकारी
वडा नं. २ का अध्यक्ष पहलवान चौधरीका अनुसार आफूले खबर पाएपछि घटनास्थल पुगेका थिए।
‘फोहोर व्यवस्थापनका लागि बनाइको संरचनामै आगो लागेको हो,’ उनले बताए, ‘नियन्त्रणमा लिन प्रयास भइरहेको थियो। कारणबारे अनुसन्धानपछि मात्र थाहा पाइनेछ।’
फोहोर व्यवस्थापनमा विवाद बढ्दै गएको थियो
राप्ती गाउँपालिकाले उक्त स्थानमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। तर पछिल्ला महिनामा स्थानीयवासीले अव्यवस्थित व्यवस्थापन आरोप लगाउँदै अवरोध गर्दै आएका थिए। विवाद चुलिँदै गएपछि दुवै पक्षबीच छलफल र वार्ता थालिएको थियो। केही हदसम्म सहमतिमूलक वातावरण बने पनि स्थायी समाधान भने बढ्न सकेको थिएन।