मसुरिया। दाङको राप्ती गाउँपालिकाले थारु समुदायको मौलिक पर्व अट्वारीको अवसरमा भदौ १५ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै अट्वारीलाई थारु समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा लिएको छ। पालिका तथा मातहतका सबै कार्यालय आइतबार बन्द रहने जनाइएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा अट्वारीलाई थारु समुदायको सांस्कृतिक धरोहर र मौलिक पहिचानका रूपमा व्याख्या गर्दै यस पर्वले सामाजिक सद्भाव, शान्ति र आत्मीयताको सन्देश प्रवाह गर्ने उल्लेख छ।
साथै, संस्कृति र परम्पराको संरक्षणका नाममा अपसंस्कृति र विकृति फैलिन नदिन सचेत रहन सबैलाई आग्रह गरिएको छ।
गाउँकार्यपालिकाको भदौ १३ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको हो।
Advertisement