काठमाडौं — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले निर्धारण गरेका उद्देश्य पूरा गर्न सबै निकायलाई तत्काल सक्रिय हुन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आइतबार बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च र राजस्व संकलनका लक्ष्य पूरा गर्न औसत प्रयास पर्याप्त नहुने स्पष्ट पारे। ‘कार्यशैलीमा परिवर्तन ल्याएर, समस्या समाधानमुखी दृष्टिकोण अपनाएर मात्र नतिजा देखिन्छ,’ उनले भने, ‘अब ढिलो गर्न मिल्दैन।’
उनले निजी क्षेत्रको मनोबल बढाउने उद्देश्यले अध्यादेश, नीति तथा कार्यक्रम ल्याइएको र संवाद बढाइएको बताए। ‘यसबारे थप अध्ययन र अनुसन्धान आवश्यक छ,’ उनले जोड दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि निजी र सार्वजनिक क्षेत्रमा ‘आर्थिक आत्मविश्वास’ बढाउन जरुरी रहेको उल्लेख गरे। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्याजदर घटेको बेला सरकारले निश्चित क्षेत्रमा ‘ठूलो धक्का’ दिने नीति अपनाउनुपर्ने सुझाव दिए।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतका लक्ष्य र नतिजाको आत्मसमीक्षा गरी काममा केन्द्रित हुनुपर्ने बताए। राजस्व सचिव दिनेश कुमार घिमिरेले राजस्व प्रशासनमा सुधार अपरिहार्य रहेको भन्दै ‘अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्य पूरा हुन्छ’ भने।
अर्थ मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्याम प्रसाद भण्डारीले अर्थतन्त्रका सूचक सकारात्मक रहेको भन्दै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए।
बैठकमा सहभागीहरुले कार्यान्वयनका क्रममा देखिने समस्या तत्काल समाधान गर्दै अघि बढे अपेक्षित नतिजा हासिल गर्न सकिने धारणा राखे।
बजेटका लक्ष्य पूरा गर्न सक्रिय हुन अर्थमन्त्री पौडेलको निर्देशन
बजेटका लक्ष्य पूरा गर्न सक्रिय हुन अर्थमन्त्री पौडेलको निर्देशन

Advertisement
तपाईको प्रतिक्रिया