दाङ । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजना मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयनमा रहेका योजनाहरूको प्रभावकारी अनुगमन गर्न प्रणाली विकासको निर्देशन दिएका हुन् ।
‘सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं ।’
मुख्यमन्त्री आचार्यले पारदर्शिता र जवाफदेहिता कायम गर्न अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । बैठकमा उनले किसान एपलाई पनि लक्ष्यअनुसार कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिए ।
‘प्रदेशका प्रमुख तरकारी बजारहरूको दैनिक मूल्यसूची राख्न आवश्यक छ,’ उनले भने, ‘गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समेटी सर्वसाधारणको पहुँचमा पुर्याउन सकिन्छ ।’
उनले सूचना तथा सञ्चार प्रविधिको सेवा लक्षित वर्गसम्म विस्तार गर्न निर्देशन दिएका छन् ।
बैठकमा प्रमुख सचिव बाबुराम अधिकारी, परिषद्का पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । सो अवसरमा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट र कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा डेटा सुरक्षालाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने विषयमा पनि छलफल गरिएको थियो ।
मुख्यमन्त्री ड्यास बोर्डमार्फत ५० लाखभन्दा माथिका योजनाको अनुगमन गरिने
मुख्यमन्त्री ड्यास बोर्डमार्फत ५० लाखभन्दा माथिका योजनाको अनुगमन गरिने

Advertisement
तपाईको प्रतिक्रिया