गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा नेकपा (एमाले) रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला सुरक्षाकर्मीमार्फत खोलिएकोमा आपत्ति जनाउँदै विरोध जनाएको छ।
स्मार्ट बोर्ड खरिद प्रक्रियामा अनियमितता भएको भन्दै २०८२ असार ३० गते उपाध्यक्ष मिना गौतमसहित २८ जना जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको थियो। उनीहरूले अनियमितता भएको भन्दै छानबिनको माग गर्दै आएकोमा स्थानीय प्रशासनले साउन २ गते सुरक्षा बल परिचालन गरी तालाबन्दी खोलिदिएको थियो।
नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूको आन्दोलन र मागको बेवास्ता गर्दै प्रशासनले ताला खोलेको कार्य अलोकतान्त्रिक र हस्तक्षेपपूर्ण रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “विगत केही समयदेखि स्मार्ट बोर्ड खरिद प्रक्रिया विवादास्पद बन्दै गएको छ। उक्त विषयमा छानबिन नगरी प्रशासनिक बल प्रयोग गरिनु गम्भीर विषय हो।”
गाउँकमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग गर्दै, दोषी उम्कन खोजे जनप्रतिनिधि र जनताले थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।
नेकपा एमालेले उक्त घटनालाई गम्भीर रूपमा लिँदै गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत स्वयं जिम्मेवार रहेको भन्दै सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कारबाही नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ।
रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध
रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध

Advertisement
तपाईको प्रतिक्रिया