प्यूठान।जिल्लाको एक दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने १२ वर्ष लामो प्रतीक्षा अन्ततः सकिएको छ। नौबहिनी गाउँपालिका–७ को मैरामारेदेखि प्यूठान नगरपालिका–५ को जुम्रीकाँढासम्मको सडकखण्डमा ट्याक खुलेपछि स्थानीय बासिन्दाले नाचगानसहित उत्सव मनाएका छन्।
सडक निर्माणको मुख्य बाधक नागनगेनीभीरको कठोर पहरा थियो। ब्रेकर प्रयोग गरेर एक महिनासम्मको कठिन प्रयासपछि त्यो पहरा छिचोल्न सफल भएपछि मात्रै सडक खुल्न सकेको हो।
सडक योजना वि.सं. २०७८) मा सुरु गरिएको थियो। स्थानीयले पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म चन्दा संकलन गरेका थिए। त्यसयता गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ। पालिकाका अनुसार अहिलेसम्म झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा मात्र १९ लाख विनियोजन गरी ठेक्कामार्फत काम सम्पन्न गरिएको हो।
सडक खुलेपछि जुम्रीकाँढा र वरपरका बासिन्दामात्र होइन, छिमेकी रोल्पा जिल्लाको सिर्प र जुतुङखोला क्षेत्रका बासिन्दाले पनि लाभ उठाउने अपेक्षा गरिएको छ।
पालिका अध्यक्ष दिलबहादुर थापा भन्छन्, “पूर्वाधार विकासले दुर्गम गाउँमा खुसी र आशाको किरण ल्याएको छ। अब नियमित सवारी सञ्चालन र स्थायी सुधारतर्फ अघि बढ्नेछौं।”
सडक निर्माणमा विशेष भूमिका खेलेको भन्दै झिमरुक–७ तुषाराका मेसिन अपरेटर सुदर्शन जी.सी. र गौमुखी–४ पुँजाका विक्रम के.सी.लाई स्थानीयले नगद ४ हजार ८१० रुपैयाँसहित फूलमाला र अबिर लगाएर सम्मान गरेका छन्।
यसैबीच, संघीय समपूरक बजेटअन्तर्गत ४२ करोड रुपैयाँ लागतमा स्याउलीबाङ सडक स्तरोन्नतीको काम पनि तीव्र गतिमा अघि बढिरहेको स्थानीय तहले जनाएको छ।
नागनगेनीभीर छिचोलेर वस्तीमा सडक
नागनगेनीभीर छिचोलेर वस्तीमा सडक

Advertisement
तपाईको प्रतिक्रिया