गुल्मी — गुल्मीमा गएराति पानीसहित आएको हावाहुरीले दर्जनौँ घर, विद्यालय, होटल र अन्य संरचनामा क्षति पुर्याएको छ। जिल्लाका ग्रामीण क्षेत्रहरूमा विशेष गरी क्षति पुगेको हो।
धुर्कोट गाउँपालिका–४, जैसीथोक रौताडीका पूर्णप्रसाद पाध्याको दुईतले टिनको घर र बर्दबासका कृष्ण बिष्टको घर तथा बाख्राको खोरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगा बहादुर सारुले जानकारी दिनुभयो। बर्बोट बजारमा रहेको अरुण गैरेको ‘सुपारी होटल एण्ड लज’ को छानो पूर्ण रूपमा उडेको छ। घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार र क्षति विवरण संकलन गरिरहेको छ।
रेसुङ्गा–५ गोवानेका अर्जुन विक र रुरुक्षेत्र–५ ग्वादीका कृष्ण प्रसाद ज्ञवालीको घरमा पनि हावाहुरीले क्षति पुर्याएको छ। यस्तै, मालिका गाउँपालिका–४ अर्खाबाङस्थित अर्खाबाङ माध्यमिक विद्यालयसहित ५ विद्यालय, महिला समूहको भवन र अर्खाबाङ बजारका घरहरूमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ।
हालसम्म कुनै मानवीय वा पशु क्षति नभएको डिएसपी सारुले जानकारी दिनुभयो। तर हावाहुरीका कारण विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको र जनजीवन प्रभावित बनेको छ।
ग्रामिण क्षेत्रमा अझै हावाहुरी र वर्षा जारी छ भने सदरमुकाम तम्घासमा चिसो बढेको छ। प्रहरी र प्रशासनले क्षतिको विवरण संकलन तीव्र बनाउँदै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
गुल्मीमा हावाहुरीले विद्यालयसहित दर्जनौँ घरको छाना उडायो, विद्युत् सेवा अवरुद्ध
गुल्मीमा हावाहुरीले विद्यालयसहित दर्जनौँ घरको छाना उडायो, विद्युत् सेवा अवरुद्ध

Advertisement
तपाईको प्रतिक्रिया