बागलुङ। बागलुङको बडिगाड गाउँपालिका-९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सोमबार बडिगाड गाउँपालिका-७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना भएको हो। दुर्घटनामा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेकी ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए।
दुर्घटनापछि दुबै जनालाई उपचारका लागि बुर्तिबाङ अस्पताल ल्याइए पनि बचाउन सकिएन। दुर्घटनामा बडिगाड गाउँपालिका–९ की ६३ वर्षीया तेज कुमारी बुढा टाउको गम्भीर चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई बुर्तिबाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ।
यस्तै, बडिगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र सवारी चालक २३ वर्षीय हिमाल घर्ती घाइते भएका छन्। प्रहरीका अनुसार घाइते निमसरा बुढा र यमकुमारी पौडेलको अवस्था मध्यम छ भने सिता पौडेल र चालक हिमाल घर्ती सामान्य रहेका छन्। उनीहरूको उपचार बुर्तिबाङ अस्पतालमा भइरहेको छ।
प्रहरीका अनुसार जीप उकालो चढ्दै गर्दा ब्रेक फेल भई सडकबाट ५०-६० मिटर तल खसेको थियो। दुर्घटनापछि सवारी चालक हिमाल घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बडिगाडमा जीप दुर्घटना, दुईको मृत्यु, पाँच जना घाईते
बडिगाडमा जीप दुर्घटना, दुईको मृत्यु, पाँच जना घाईते

Advertisement
तपाईको प्रतिक्रिया