प्युठान । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवंम प्युठान जिल्ला इन्चार्ज सुर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएको छ ।
थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो।
सोमबार बसेको जिल्ला समितिको चौथो पुर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिब माधब पौडेलले जानकारी दिनुभयो । पत्रकारिता पृष्ठभुमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको प्रेस सल्लाहकार समेत हुनुभएको थियो। खरो र स्पष्ट वक्ताका रूपमा उनको छबी छ। थापालाई धेरैले बौद्धिक नेताको रूपमा समेत चिन्ने गर्छन्। सचिब पौडेलका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश (क)बाट एमालेको लुम्विनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा र प्रदेश (ख) बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो ।
रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत बन्नुभएको थियो। नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा र महिला तर्फ कमला रिजाललाइ प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय भएको नेकपा एमाले प्यूठानले जनाएको छ ।