मोरङ। मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । यस आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि ८ सम्म शतप्रतिशत दलित समुदायका विद्यार्थीमात्रै अध्ययनरत छन् ।
२०४५ सालमा स्थापना भएको यो विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारका अनुसार सरदार, हरिजन र राम जातिबाहेकका अन्य विद्यार्थी छैनन् । नर्सरीमा मात्रै १२० जना विद्यार्थी भर्ना भएका छन् । मोरङमा एउटै विद्यालयको बाल कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी यो नै भएको दाबी गरिएको छ ।
२०७३ सालदेखि विद्यालयको प्रधानाध्यापकको भूमिकामा रहनुभएका सरदारका अनुसार अहिले प्रोत्साहन पाइरहेको यो विद्यालयको स्थापना रवि सरदारले निजी जग्गा उपलब्ध गराएर गर्नुभएको थियो । आफ्नै बाजेले धर्मभकारी मासेर स्थापना गरेको विद्यालयमा उनकै पनाति (चौथो पुस्ता)ले प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको छ । उनीसोही विद्यालयको पूर्वविद्यार्थी हुन् ।
आफूले जिम्मेवारी सम्हाल्दा अति न्यून सङ्ख्यामा मात्रै विद्यार्थी रहेकोमा स्थानीय तह स्थापनापछि अभिभावकलाई सचेत गराउँदै भर्ना अभियान सञ्चालन गरिएको उनले बताए । त्यसपछि विद्यार्थी बढेको हो । ग्रामथान–२, कटहरी गाउँपालिका–५, विराटनगर–१९ विद्यालयको सेवा क्षेत्र पर्छ, जहाँ सरदार, हरिजन र राम जातिको बाहुल्य छ । ग्रामथान–२ का वडाध्यक्ष यादवप्रसाद खतिवडाका अनुसार विद्यालयमा आवश्यक भौतिक संरचना विस्तार भइरहेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुईकोठे पक्की भवन निर्माण चलिरहेको छ । “ग्रामथान गाउँपालिकाभित्रका विद्यालयमध्ये राम्रो मानिन्छ,” अध्यक्ष खतिवडाले भने “विद्यार्थीलाई प्रोत्साहनका लागि शतप्रतिशत निःशुल्क सुविधा प्रदान गरिएको छ।”
सबै किसिमका शैक्षिक सामग्री, पोसाक, जुत्ता, ब्याग, खाजाका लागि आवश्यक बजेट प्रबन्ध गरिँदै आएको अध्यक्ष खतिवडाले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।