काठमाडौं — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
१२औँ संविधान दिवसका अवसरमा शनिबार जारी गरेको प्रेस वक्तव्यमा ओलीले संविधान जारी भएलगत्तै मुलुकले नाकाबन्दीजस्तो कठिन परिस्थिति सामना गर्नुपरेको स्मरण गरेका छन् । उक्त परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको उनको भनाइ छ ।
संविधान निर्माणका क्रममा नेपाल राष्ट्र र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै ओलीले जननिर्वाचित संविधानसभाबाट बनेको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको परिणाम भएको बताएका छन् ।
उनले संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली स्थापित गरेको तथा राज्यका सबै अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उल्लेख गरेका छन् ।
संविधानले नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासलगायत ३१ वटा मौलिक हकको व्यवस्था गरेको बताउँदै ओलीले मौलिक हकको पूर्ण प्रत्याभूतिका लागि राज्य बलियो र समृद्ध हुनुपर्ने बताएका छन् ।
ओलीले गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको दाबी गरेका छन् । वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोपसमेत उनले लगाएका छन् ।
राज्यका विभिन्न अंगमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण गरिएको ओलीको आरोप छ । राजनीतिक नियुक्तिमा ‘जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने’ नीति अपनाइएको उनले बताएका छन् ।
त्यस्तै, वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुसार काम गरिरहेको अनुभूति भएको उनले बताएका छन् ।
‘मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भएको छ,’ ओलीले वक्तव्यमा भनेका छन् ।
संविधान दिवसका अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै संविधानले परिलक्षित गरेको लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्न आह्वान गरेका छन् ।
संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
Advertisement
तपाईको प्रतिक्रिया