प्यूठान । झिमरुक गाउँपालिका–४ का केशर जिसीले आफ्नी आमाको ८४ वर्ष प्रवेशको अवसरमा गरिने चौरासी पूजाको सट्टा आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका छन्।
आमा चुमकला जिसीको सम्मानमा झिमरुक गाउँपालिकास्थित लक्ष्मी माध्यमिक विद्यालयमा ‘बेगम–चुमकला शैक्षिकवृत्ति अक्षयकोष’ स्थापना गरिएको हो।
हिन्दु संस्कारअनुसार ८४ वर्ष प्रवेश गरेपछि चौरासी पूजा गर्ने चलन रहे पनि परिवारले त्यसको सट्टा शिक्षामा सहयोग पुग्ने काम गर्ने निर्णय गरेको केशर जिसीले बताए।
‘नयाँ पुस्ताले पनि केही सिक्न सकून् र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हौँ,’ चुमकलाका नाति मनोजकुमार जिसीले भने।
शुक्रबार आयोजित कार्यक्रममा जिसी परिवारले अक्षयकोषका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेको छ।
अक्षयकोषबाट प्राप्त ब्याज रकम आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक कर्णबहादुर जिसीले शिक्षाका क्षेत्रमा गरिएको यो योगदानले आर्थिक अभावमा रहेका विद्यार्थीलाई सहयोग पुग्नुका साथै भावी पुस्ताका लागि पनि उदाहरण बन्ने बताए।
८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
Advertisement
तपाईको प्रतिक्रिया