गुल्मी । गुल्मीमा आयोजित जिल्ला स्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनमा रेसुङ्गा माध्यमिक विद्यालय प्रथम भएको छ।
सिद्धबाबा माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनमा जिल्लाका १५ विद्यालय सहभागी भएका थिए। विद्यार्थीले कक्षाकोठामा सिकेका विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्दै विभिन्न विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शन गरेका थिए।
प्रतियोगितामा गण्डकी माध्यमिक विद्यालय द्वितीय र आयोजक सिद्धबाबा माध्यमिक विद्यालय तृतीय भए। महेन्द्र माध्यमिक विद्यालय र ईश्वरी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरे।
विद्यार्थीले पाठ्यक्रममा आधारित विषयसँगै दैनिक जीवनमा विज्ञानको प्रयोग, प्रविधि र स्थानीय आवश्यकतासँग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए। सामग्रीको मूल्यांकन विषयवस्तु, वैज्ञानिक आधार, प्रयोगात्मकता, सिर्जनशीलता र प्रस्तुतीकरणलगायतका आधारमा गरिएको थियो।
भूकम्पविद् डा. शिव सुवेदीलगायत विज्ञ टोलीले विद्यार्थीले तयार पारेका सामग्रीको अवलोकन तथा मूल्यांकन गरेको शिक्षक यमलाल पाण्डेले बताए।
उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई पुस्तकमा पढेको ज्ञानलाई प्रयोग, परीक्षण र प्रस्तुतिसँग जोड्ने अवसर दिन्छ। सामग्री निर्माणका क्रममा विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, खोज तथा अनुसन्धानको भावना र समूहमा काम गर्ने सीप विकास हुने उनले बताए।
सिद्धबाबा माविका प्रधानाध्यापक डोरबिक्रम श्रीसले विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि अतिरिक्त तथा प्रयोगात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए। विज्ञान सामग्री प्रदर्शनले विद्यार्थीमा नयाँ कुरा खोज्ने, सिक्ने र आफ्नो सिर्जना प्रस्तुत गर्ने आत्मविश्वास बढाउन सहयोग गर्ने उनको भनाइ छ।
सहायक प्रधानाध्यापक युवराज अर्यालले विज्ञान शिक्षालाई प्रयोगात्मक र खोजमूलक बनाउन विद्यालय तहदेखि नै वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। विद्यार्थी आफैंले सामग्री निर्माण गर्दा विषयवस्तुलाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त हुने उनले बताए।
कार्यक्रममा विज्ञ टोलीले विद्यार्थीका सामग्रीको वैज्ञानिक आधार र उपयोगितासमेत मूल्यांकन गरेको थियो। विज्ञसमक्ष आफ्ना सामग्रीबारे व्याख्या गर्ने अवसर पाउँदा विद्यार्थीले सामग्रीका बलिया पक्षसँगै सुधार गर्नुपर्ने विषयबारे पनि जानकारी पाएको विद्यालयले जनाएको छ।
सिद्धबाबा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन थापाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित, अनुसन्धानमुखी र विद्यार्थीको प्रत्यक्ष सहभागितामा आधारित बनाउँदै लैजाने बताए।
गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
Advertisement
तपाईको प्रतिक्रिया