प्युठान। प्युठानका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पदभारग्रहण गरेका छन् । सपथ लगत्तै सबै जनप्रतिनिधीहरुले सम्बन्धित पालिका र वडामा गएर पदभारग्रहण गरेका हुन् ।
दुई नगरपालिका र सात वटा गाउँपालिकासहित ९ स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत,जिल्ला न्यायधीश श्यामलाल घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । त्यस्तै, उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि शपथ लिएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो।
स्थानीय सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारीमा आइपुगेका नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतालाई गाउँ सरकारको अनुभुती हुने गरी काम गर्ने प्रतिबद्वता जनाए । नवनिर्वाचीत सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले जनभावनालाई समेट्दै अघि बढ्न आफू प्रतिबद्व रहेको सुनाए।
शपथ तथा पदस्थापन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत घिमिरेले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो।
९ मध्ये ३ वटा स्थानीय तहमा नेपाली कांग्रेस, ३ वटामा माओवादी केन्द्र र २ वटामा नेकपा एमाले र एक वटामा राष्टिय जनमोर्चाले जितेको छ । प्युठानमा जम्मा ३३८ जनप्रतिनिधी चुनिएका छन।