पोखरा । हिमालपारी मनाङमा बाढी र पहिरोमा फसेका ३५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।
मौसममा आएको खराबीका कारण विगत ३ दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न हेलिकप्टर जान सकेको थिएन। मौसममा सुधार आउनासाथ बिहीबार बिहानै सेनाको हेलिकप्टरले अलपत्र नागरिकको उद्धार गरिएको हो।
सिरानतालका नागरिकलाई हेलिकप्टरमार्फत् तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको छ।
बाढी र पहिरोले फसेका नागरिकको उद्धारमा मनाङबाट निर्वाचित सांसद पोल्देन गुरूङसमेत हेलिकप्टरमा गएका थिए।
सिडिओ लामिछानेका अनुसार सेनाको हेलिकप्टरले बाढी र पहिरोबाट पीडित भएका नागरिकलाई तत्काल राख्न त्रिपाल, टेन्ट लगायतका सामग्री समेत लगेको छ।