काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना संक्रमणबाट थलिएका थापाको अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्य गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित उनको रिपोर्ट नेगेटिभ भएपनि स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको थियो । उनको उपचारका लागि आह्वान गरिएको सहयोगमा ५० लाख बढी रकम उठेको थियो ।
थापाले आफ्नो नेतृत्वमा वि. सं. २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरेका थिए । वैकल्पिक राजनीतिको नेतृत्व गरेका उनी पद प्रति आशक्ति नभएका नेताका रुपमा देखिएका थिए ।थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् । उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।