काठमाडाैं। स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुंगेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो ।केही समयअघि हात्तीसारमा भवन निर्माणको क्रममा रहेको स्थानमा प्राचीन ढुंगेधारा रहेको अभियन्ताले पत्ता लगाएपछि निर्माण कार्य रोकेर उत्खनन गर्दा ढुंगेधाराको संरचना पत्ता लाग्यो । तीनधारा पाठशाला नजिकै रहेको झन्डै ७ सय वर्ष पुरानो धारा पुरिएर दयनीय अवस्थामा भेटियो । धारा भेटिँदा टुटफुट भएको अवस्थामा थियो । हाल यो धाराको वडा नम्बर १ र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण हुँदै छ । यो त उदाहरण मात्रै हो । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् । केही समय अघिसम्म उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गएका छन् । अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले ढुंगेधाराहरू लोप हुन थालेको संरक्षण अभियन्ताहरू बताउँछन् ।उपत्यकाका अधिकांश धारा बेवारिसे भएका छन् । ढुंगेधारा संरक्षणमा लामो समयदेखि लागिपरेका अभियन्ता यादवलाल कायस्थ उपत्यकामा बढ्दो अव्यवस्थित र सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएको बताउँछन् । उनले धारामा पानी आउन छाडेसँगै ती धाराको संरक्षण हुन छाडेको बताए । कपुरधाराका ढुंगेधाराहरू अहिले प्रायः सबै सुकिसकेका छन् । ‘धारामा सफा पानी आउँथ्यो, ढुंगेधाराको पानीको स्वाद नै खुबै मीठो हुन्थ्यो तर अहिले एकादेशको कथा भएको छ,’ कपुरधाराका स्थानीय राजेश महर्जनले भने । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
ऐतिहासिक ढुंगेधारा मासिँदै
ऐतिहासिक ढुंगेधारा मासिँदै

Advertisement
तपाईको प्रतिक्रिया