काठमाडौं- मकवानपुर, सुर्खेत र रौतहटबाट अवैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटबाट भारत मोतिहारी बस्ने अन्दाजी २१ वर्षीय महमद एक्रमोदिन, २३ वर्षीय जाबेद आलम र २१ वर्षीया शान्तिदेवी आलमलाई अवैध लागूऔषध गाँजा करिब ४० केजी सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बिआर २९ बि ४५८१ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा पछाडिको सिटमुनि लुकाई राखेको लागुऔषधसहित कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतराबाट चितवन भरतपुर महानगरपालिका १८ भुवनबस्ती बस्ने ३१ वर्षीय अर्जुन थापा मगरलाई नियन्त्रित लागुऔषध नाइट्रोभेट १ हजार २ सय एम्पुल, स्पास्मो प्रोक्सिबन प्लस ४५ पिस र कोरेक्स २ पिससहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ७ ख ९०३५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने १९ वर्षीय समित अन्सारी पनि अवैध लागुऔषध ९० मिलिग्राम ब्राउन सुगरसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। अन्सारीको कोठामा लागुऔषध राखेको सूचनाको आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले ३ वटा पुरियामा उक्त परिमाणको लागुऔषध लुकाई छिपाई राखेको अवस्थामा फेलापारी उनलाई पक्राउ गरेको हो।
रौतहट चन्द्रपुर नगरपालिका १० स्थित डुमरिया चोकमा ग १ ख ६१२६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं डेरा गरी बस्ने गोरखा घ्याम्पेसाल घर भएका दिनेश विकलाई नियन्त्रित लागुऔषध नाइट्राभेट ५ सय १० एम्पुल, स्पास्मो प्रोक्सिभन २४ एम्पुल, डाइजेल्याप ७ एम्पुल, नोरफिन ७ एम्पुल, फेनारगन ७ एम्पुल र एभिल ५ एम्पुल सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
मकवानपुर, सुर्खेत र रौतहटबाट लागुऔषध सहित ५ जना पक्राउ
मकवानपुर, सुर्खेत र रौतहटबाट लागुऔषध सहित ५ जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया