काठमाडौ । रोजगारीका लागि युएई (दुवई) पुगेका डेढ सय नेपाली कामदार अलपत्र परेका छन् ।
युएईको राजधानी आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत झण्डै सात सय कामदार अलपत्र परेका छन् । जसमा नेपालीको संख्या डेढ सय हाराहारी रहेको जनाइएको छ ।
कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीे व्यवस्थापकको लापर्बाहीका कारण उनीहरु अलपत्र परेका हुन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झण्डै ७ सय जना कामदार अलपत्र परेका हुन् ।
राजधानी आबुधाबीदेखि झण्डै २८ किलोमिटर दूरीको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु रहेको जनाइएको छ । अलपत्र परेकामध्ये कञ्चनपुरका गणेशसिंह महराले साथीभाइको सहारामा आफूहरु बाँचिरहेको बताउँदै भने, ‘एउटा कोठामा २१ जनासम्म बसेका छौं, कोचिएर बस्नु पर्दा साथीहरु बिरामी पर्न थालेका छन् ।
कम्पनीमा १८ महिनादेखि झण्डै ५ वर्षसम्म काम गरेका साथीहरु रहेको उनले जानकारी दिएका छन् । अलपत्र परेका अधिकांश कामदारले नौं महिनादेखि तलव समेत नपाएको उनले बताए । तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसे बापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।
कम्पनीले काम गरे वापत सेवा सुविधा नदिएपछि कामदार अलपत्र परेकोबारे यूएईमा रहेका भारतीय सञ्चार माध्यममार्फत खबर बाहिरिएपछि भारतीय दूतावासले चासो देखाउँदै कामदारलाई क्याम्पमै पुगेर भेटेको जनाइएको छ । भारतीय दूतावास र भारतीय संघसँस्थाले अलपत्र कामदारलाई दैनिक खाना उपलब्ध गराउँदै आएको नवलपरासी अरुणखोलाका युवराज खडालुकले जानकारी दिएका छन् ।
यता युएईका लागि कार्यवाहक राजदूुत सागरप्रसाद फुयाँलले नेपाली युवाको समस्याबारे आफूहरु गम्भिर रहेको बताएका छन् । दूतावासले बुधबार नै कम्पनी व्यवस्थापनसँग छलफल गरेको, तर सकारात्मक जवाफ नआएकोले कुटनैतिक प्रयास थालिएको राजदुत फुयाँलले बताएका छन् ।
बुधबार दिउँसो दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की र दूतावासका जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलम सम्बन्धित कम्पनी पुगेर छलफल गरेको दूतावासले जनाएको छ । बुधबार नै दूतावासले समस्याबारे जानकारी गराउँदै सरकारलाई पत्र पठाएको छ ।