काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले एक साताभित्र समिति गठनका लागि पहल गर्ने निर्णय गरेको हो । भोटेकोशी विपद्बाट पुगेको क्षतिको पुनर्निर्माण र पुनरुत्थानसँगै भविष्यमा हुन सक्ने विपद्बाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई नीतिगत मार्गचित्र र रणनीतिक कार्यढाँचा दिन समिति गठन गर्न लागिएको रास्वपाले जनाएको छ । समितिले विपद्पछिको दिगो पूर्वाधार पुनर्निर्माण, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जलवायु कूटनीतिका विषयमा सरकार, संसद् तथा सरोकारवाला निकायबीच समन्वय गर्नेछ ।
यस्तै, विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनको समीक्षा गरी आवश्यक कानुन निर्माणका लागि संसद्मा पहल गर्ने जिम्मेवारी पनि समितिलाई दिने निर्णय भएको छ ।
बैठकले हाल कायम रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । उक्त संयन्त्रको संयोजक रास्वपा सभापति लामिछाने रहनेछन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका शीर्ष नेता तथा प्रतिनिधि सहभागी थिए । सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी थिए ।
सर्वदलीय संसदीय विशेष समिति गठन र आवश्यक व्यवस्थापनका लागि सभामुख तथा संघीय संसद्समक्ष अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
Advertisement
तपाईको प्रतिक्रिया