काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधानमा चार वटा आधारभूत परिमार्जन आवश्यक रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले संविधान कागजमा लेखिएको दस्तावेजमा मात्र सीमित नभई जनताको जीवनमा परिणाम देखिनुपर्ने बताएका हुन् ।
विदेशी प्रभाव र स्वार्थबाट निर्देशित हुँदै गएको राजनीतिक व्यवस्थाले देशमा सुशासन, रोजगारी र स्थिरता दिन नसक्ने उनको भनाइ छ ।
शाहीले संविधान परिमार्जनका लागि चारबुँदे प्रस्ताव अघि सारेका छन्।
– प्रदेश संरचना खारेज गर्ने ।
– नेपाललाई हिन्दू, बौद्ध, किराँतलगायत वैदिक–सनातन सभ्यताको पहिचानसहितको हिन्दू अधिराज्यका रूपमा पुनर्स्थापित गर्ने ।
– राष्ट्रपति पद खारेज गरी राजसंस्था पुनर्स्थापित गर्ने ।
– जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने ।
यी विषयमा जनताको प्रत्यक्ष सहभागिता र जनमतका आधारमा संविधान परिमार्जन गर्न सके स्थिरता, सुशासन र जनउत्तरदायी शासनको नयाँ आधार निर्माण गर्न सकिने शाहीले बताएका छन् ।