काठमाडौं — काठमाडौं उपत्यकाभित्रका बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब उपत्यकाभित्रका संघीय सडकमा देखिएका समस्या, मर्मतसम्बन्धी गुनासो तथा सुझाव नागरिकले एपमार्फत दर्ता गर्न सक्नेछन्।
एपमा दर्ता भएको गुनासोको सम्बोधन प्रक्रिया र अवस्था पनि नागरिकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो समाधान भएपछि त्यसको जानकारीसमेत एपमार्फत नै प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ।
हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४ सय ७२ किलोमिटर सडकका सम्बन्धमा गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकबारे भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी पनि एपबाटै उपलब्ध गराइनेछ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी विस्तार गर्ने तयारी सडक डिभिजनले गरेको छ। आगामी दुई साताभित्र ललितपुर र भक्तपुरलाई पनि एपमा समेटेर सेवा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
Advertisement
तपाईको प्रतिक्रिया