गुल्मी । स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु तथा दूध बिक्री गर्ने उद्देश्यले तम्घास बजारमा मासु पसल र दुग्ध डेरीमा संयुक्त अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको सक्रियतामा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा बजारमा सञ्चालनमा रहेका केही मासु पसलहरू दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको छ । त्यस्तै, केही मासु पसलहरूमा मासु काट्ने स्थान र बिक्री गर्ने ठाउँ अत्यन्तै अव्यवस्थित रहेको, सरसफाइमा कमी देखिएको तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
फोहोर तथा अस्वच्छ वातावरणमा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने र विभिन्न रोगव्याधि फैलिने जोखिम उच्च हुने भएकाले तत्काल सुधार आवश्यक रहेको टोलीको निष्कर्ष छ । त्यसैगरी, बजारमा रहेका दुग्ध डेरीहरूको अनुगमन गर्दा मूल्यसूची नराखी दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरिएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
मूल्यसूची नराख्दा उपभोक्तालाई भ्रम पर्ने, मनपरी मूल्य असुली हुने सम्भावना रहने भन्दै अनुगमनकर्ताहरूले तत्काल मूल्यसूची राख्न निर्देशन दिएका छन् । साथै, दूध संकलन, भण्डारण र बिक्री प्रक्रियामा सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव समेत दिइएको छ ।
अनुगमन टोलीले व्यवसायीहरूलाई तत्काल सुधार गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा जानकारी गराउँदै दीर्घकालीन रूपमा स्वच्छता, दर्ता प्रक्रिया, संरचना सुधार तथा कानुनी मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ । अर्को पटक हुने अनुगमनमा समेत सुधार नगरेमा सम्बन्धित पसलहरू बन्द गर्ने सम्मका कडा कदम चालिने पाण्डेले बताए ।
यस पटकको अनुगमनमा तम्घास बजारभित्र रहेका १६ वटा मासु पसल र ५ वटा दुग्ध डेरी समेटिएका थिए । सम्बन्धित निकायहरूले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता अनुगमनलाई नियमित र निरन्तर रूपमा अगाडि बढाइने बताएका छन् ।
स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न व्यवसायी, सरोकारवाला निकाय र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अनुगमन टोलीले सबै पक्षको जिम्मेवार भूमिकाले मात्र स्वस्थ समाज निर्माण गर्न सकिने कार्यालयले जनाएको छ ।
तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन
तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन
Advertisement
तपाईको प्रतिक्रिया