मसुरिया। दाङको राप्ती गाउँपालिकामा आयोजित क्षयरोग स्क्रिनिङ शिविरमा १७ जनामा क्षयरोग पुष्टि भएको छ।
गाउँपालिकाको वडा नम्बर ३ मसुरिया, वडा नम्बर ६ पत्थरगढवा र वडा नम्बर ८ पिपरीमा तीन दिने शिविर सञ्चालन गरिएको थियो। शिविरमा ६२६ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए।
उनका अनुसार क्षयरोगको उच्च सम्भावना देखिएका १४९ जनाको खकार संकलन गरी जिन एक्सपर्ट परीक्षणका लागि लमही अस्पताल रिफर गरिने छ।
शिविरमा बर्दिया अस्पतालका डा. राजेन्द्र बसौला, भीम अस्पताल भैरहवाका एक्सरे टेक्निसियन राजेश राय, क्षयरोग मुक्त अभियानका संयोजक प्रतिमा विष्ट, नेपाल रेडक्रस उपशाखा लालमटियाका सभापति उत्तम कुमार अधिकारीलगायतको टोली सहभागी थियो।
डा. बसौलाका अनुसार परीक्षण गराउन आएका धेरै व्यक्तिमा फोक्सोसम्बन्धी समस्या देखिएको थियो। शिविरमा एआई प्रविधियुक्त डिजिटल एक्सरे मेसिन प्रयोग गरिएको थियो।
शिविर ‘क्षयरोग मुक्त नेपाल’ अभियानअन्तर्गत राप्ती गाउँपालिकाको आयोजनामा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र दाङ स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समुदायमै पुगेर गरिएको स्क्रिनिङ प्रभावकारी भएको भन्दै सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयम्सेवीप्रति आभार व्यक्त गरे।
राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि
राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

Advertisement
तपाईको प्रतिक्रिया