कपिलवस्तु । कपिलवस्तुमा कुष्ठ रोगका बिरामीको संख्या बढेको छ । पछिल्लो तीन वर्ष यता कृष्ठरोगसंग सम्बन्धित इपिडिमियोलोजिकल तथ्याङ्कले जिल्लामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको देखाएको हो ।
उक्त तथ्याङ्कअनुसार नयाँ बिरामीको संख्या आर्थिक वर्ष २०७७÷०७८ मा १२८ जना थिए भने आर्थिक वर्ष २०७८÷०७९ मा १२३ जना थिए । तर आर्थिक वर्ष २०७९÷०८० मा नयाँ बिरामीको संख्या बढेर १६७ पुगेको छ । आइतबार कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवामा सरोकारवालाहरूबिच कुष्ठरोगसम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्क अनुसार जिल्लाका १० पालिकामध्ये आर्थिक वर्ष २०७९÷०८० मा महाराजगञ्जमा सबैभन्दा धेरै २६ जना नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका छन् ।
यस्तै शिवराज र विजयनगरमा २५ जना, बुद्धभूमिमा २३ जना, कृष्णनगरमा २१ जना, बाणगंगामा २० जना, शुद्धोधनमा १५ जना, कपिलवस्तुमा ११ जना र यशोधरामा १ जना गरी कपिलवस्तु जिल्लामा जम्मा १६७ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका छन् ।।तथ्याङ्कअनुसार मायादेवी गाउँपालिकामा कुष्ठरोगका बिरामीको संख्या शून्य छ । उक्त पालिकामा बिरामीको संख्या शून्य हुनुको कारण बिरामी पहिचानको कार्यक्रम नै सञ्चालन नगर्नु हो । तथ्याङ्कले १४ वर्षभन्दा कम उमेरका बिरामीको संख्या १० जना देखाएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले आफ्नो पालिकामा कुष्ठरोगका बिरामीको पहिचान गर्ने कामको थालनी गरेको बताउनु भयो ।
नगरप्रमुख पौडेलले यो रोगको समयमै पहिचान गरेर थप भयावह हुन नदिन सबैले जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरेर पालिका अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।