अर्घाखाँची – अर्घाखाँचीमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच शुरु भएकाे छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कार्तिक औंशीसम्म नाचिने प्रचलन छ ।
भैरव नाच सात पटकसम्म नाचिन्छ । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ। पुरुष नर्तकले महिलाको भेषमा श्रृङ्गार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ। यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार विहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ ।
कुनै दिन अन्यत्र गाउँमा गई नाच्नुपर्यो र उज्यालो भयो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ । तीन वटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा श्रृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भूमिकास्थान -८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयाे ।
धार्मिक आस्थासँगै रोचक मानिए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा पुगेकाे श्रेष्ठले बताउनु भयाे । नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिन्छ। अर्घाखाँचीभित्र मात्रै नभइ गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लामा पनि याे नाच लाेकप्रिय मानिन्छ । याे नाच हेर्न हजाराैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । लाेपाेन्मुख मानिएकाे भैरव नाच अन्य समुदायबीचमा पनि लोकप्रिय छ।