हुम्ला। सिमकोट गाउँपालिकाले निवर्तमान गाउँपालिकाका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जनप्रतिनिधिहरूले पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै सिमकोट गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाका लागि पुर्याएको योगदानलाई संझदै गाउँपालिकाले निवर्तमान सबै सदस्यलाई सम्मान गरेको वर्तमान अध्यक्ष विजय भण्डारीले बताए । कतिपय स्थानमा पूर्व र वर्तमान जनप्रतिनिधिबीच तिक्तता हुने गरेका बेला सिमकोट गाउँपालिकाले भने सम्मान कार्यक्रम आयोजना गरेको हो । निवर्तमान जनप्रतिनिधिले गरेका रचनात्कम कार्यलाई अनुशरण गरेर अगाडि बढ्नेसमेत नवनिर्वाचित अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाले सीमित स्रोतसाधनका बाबजुद काम गर्नुपरेको गुनासो सुनाउँदै निवर्तमान अध्यक्ष पदमबहादुुर लामाले गाउँपालिकाको विकासका लागि सधैँ आफू सुुझाव सल्लाह दिन पछि नपर्ने बताए । उनले आफ्ना कार्यकालका केही अधुरा कार्यलाई निरन्तरता दिएर अगाडि बढ्न वर्तमान जनप्रतिनिधिलाई सुुझावसमेत दिए । सिमकोट गाउँ कार्यपालिकाका १४ जना सदस्यलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो।