दाङ। दाङको गढवा गाउँपालिकामा दलित समुदायका युवायुवतीलाई लक्षित गरी ९० घण्टे निःशुल्क बेसिक कम्प्युटर तालिम सुरु भएको छ।
गाउँपालिकाको आर्थिक सहयोग तथा गुडविल इन्स्टिच्युट एण्ड कम्प्युटर जोन, गढवा–६ को आयोजनामा सुरु भएको तालिममा दलित समुदायका ३० जना युवायुवती सहभागी छन्। तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सूचना प्रविधिको युगमा कम्प्युटर शिक्षा अपरिहार्य बनेको भन्दै सीपमूलक कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले निरन्तर अघि बढाउने बताउनुभयो।
उपाध्यक्ष शारदाकुमारी चौधरीले पछाडि पारिएका समुदायको क्षमता विकास र रोजगारीका अवसर विस्तारका लागि यस्ता तालिम उपयोगी हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो।
९० घण्टासम्म सञ्चालन हुने तालिमले सहभागीहरूको डिजिटल सीप अभिवृद्धि गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।