काठमाडौँ । कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्ध निर्माणको काम सुरु भएको छ।
अविरल वर्षापछि कर्णाली नदीको बहाव बढेर बस्ती क्षेत्रमा पसेपछि टिकापुर नगरपालिका–४ स्थित टिकापुर पार्कको भैरव मन्दिर आसपास कटान सुरु भएको थियो। कटान बढ्दै गएपछि टिकापुर पार्कसमेत जोखिममा परेको थियो।
जोखिमबारे जानकारी गराउँदै कैलालीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कोमल ज्ञवाली र करिश्मा कठरियाले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर तत्काल कटान नियन्त्रणको व्यवस्था गर्न आग्रह गरेका थिए।
सांसदहरूले ध्यानाकर्षण गराएपछि मन्त्री श्रेष्ठले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई तत्काल फोन गरी तटबन्धको काम अघि बढाउन निर्देशन दिएका थिए।
सांसद कठरियाका अनुसार मन्त्रीको निर्देशन दिएको करिब एक घण्टामै तटबन्ध निर्माणको काम सुरु भएको हो।
‘मन्त्रीज्यूको निर्देशनपछि तत्कालै कटान नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तटबन्धको काम सुरु भएको छ,’ कठरियाले भनिन्, ‘तत्काल समन्वय र पहल गर्नुभएकोमा मन्त्रीज्यूलाई धन्यवाद।’
उनका अनुसार मंगलबार कर्णाली नदीको बहाव बढेपछि बाढीले टिकापुर पार्कको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो। तटबन्धको काम सुरु भएसँगै अहिले कटान नियन्त्रणमा आएको उनले बताइन्।
टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
Advertisement
तपाईको प्रतिक्रिया