प्यूठान । जिल्लाभर ६७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आशन्न स्थानीय निर्वाचनका लागि विभिन्न पार्टी र बागीका रुपमा उम्मेदवारी दिएका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका ६७ जना उम्मेदवारले शुक्रवार मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ ।
कार्यालयका अनुसार झिमरुक गाउँपालिकाबाट मात्र ३५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मल्लरानी गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार चारै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरि झिमरुक गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार हुकुम बहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन।
त्यसैगरि मल्लरानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार टि.एस. गुरुङले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तबले जानकारी दिए ।
प्यूठानमा कुल ९८८ उम्मेदवारले मनोनयन दर्ता गरेकामा फिर्तापछि अब ९२१ उम्मेदवार कायम भएको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।