सलिम अन्सारी, प्युठान। सहर छिरेकामध्ये नगण्य मात्र गाउँको सेवामा फर्कन्छन् । उनीहरू सहरमै जागिरमा रमाउँछन् कि त सिधै विदेश हान्निछन् । एकाध व्यक्ति भने अपवादका रूपमा गाउँको सेवामा फर्किने गरेका पनि छन् । प्युठान नगरपालिका-४, टारीका ६६ वर्षीय डा. लेखराज सुवेदी यस्तै व्यक्तिमा पर्नुभएको छ । उहाँ गाउँ फर्केर बिरामीको सेवामा खटिरहनुभएको छ ।
काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपप्राध्यापक भएर आठ वर्ष बिताउनुभएका सुवेदी २०६१ सालदेखि प्युठान आएर गाउँघरमा निःशुल्क स्वास्थ्य सेवा पुऱ्याइरहनुभएको छ । “बिरामी गाउँमा छन्, म सहरमा बसेर के गर्ने ?” उहाँले भन्नुभयो, “बिरामीको सेवाका लागि भनेरै म गाउँ आएको हुँ ।” १८ वर्षदेखि डा. सुवेदीले घरघरै पुगेर बिरामी जाँच्ने र विपन्न बिरामीको निःशुल्क उपचार गर्ने काम गरिरहनुभएको छ । उहाँले बिरामीलाई स्वास्थ्य परीक्षण गरेको शुल्क लिनुहुन्न । उहा शिविर राख्न र निःशुल्क उपचार गर्ने सिलसिलामा विभिन्न गाउँहरु चहार्नुभएको छ । त्यसैले बिकटका बासिन्दाहरूले उहालाई ‘गरिबका डाक्टर’ भनेर चिनेका छन् ।
उहाँको यही निःस्वार्थ सेवाभावलाई सम्झेर प्युठानसहित रोल्पा, गुल्मी तथा अर्घाखाँचीबाट समेत बिरामी डा.सुवेदी खोज्दै उपचारका लागि आउने गरेका छन् । जुम्री बजारमा तीनवटा कोठा भाडामा लिएर उहाँले क्लिनिक चलाउनुभएको छ । बिरामीलाई बिरामी तर आफन्तको जस्तो व्यवहार गर्नु डा. सुबेदिको विशेषता हो । उहाको फरासिलो स्वभाव छ। बिरामीलाई गर्ने मित्रवत् व्यवहारले पनि उहालाई लोकप्रीय बनाएको छ ।
गाउँका बिरामीको सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टी मिलेको सुवेदीले बताउनुभयो ।
आफुहरूले घरदैलोमै निशुल्क उपचार सेवा पाइरहेको भन्दै यहाका बासिन्दा पनि खुशी देखिन्छन्।
अविवाहित सुवेदीलाई जनस्वास्थ्यमा उत्कृष्ट सेवा दिएबापत राष्ट्रपति, उपराष्ट्रपति, समाज कल्याण परिषद्, लुम्बिनी प्रदेश सरकारलगायत दर्जनौँ सामाजिक सङ्घसस्थाले पुरस्कृत तथा सम्मानित गरेका छन् । ।