काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्तका लागि बढुवा गरेको एक मन्त्रीले जानकारी दिए। बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्तका लागि बढुवा गरिएको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्।नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए।
अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन्। क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन्।
थापा क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्। भावि आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो।