कामना डेली,काठमाडौं। ‘बोल माया, गलबन्दी’ जस्ता सफल गीतका गायक प्रकाश सपुतलाई अब भने ठुलो पर्दामा दर्शकले हेर्न पाउने भएका छन् ।
वि.सं २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’को दोस्रो सिरिज ‘परदेशी २’बाट उनले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् । नारायण रायमाझीले निर्देशन गर्ने यो चलचित्रको लागि प्रकाशसँग कागजी सम्झौता भइसकेको छ । प्रकाश सपुत आफ्नो रुचिको विषय भएकाले चलचित्रमा काम गर्न लागेको बताउँछन् । उनले भने–‘चलचित्रमा काम गर्ने मेरो सानै उमेर देखिको रहर हो । तर, रहर भन्दैमा आफ्नो अहिले भइरहेको करिअरलाई असर पर्ने गरि काम भने गर्ने छैन ।’‘दोहोरी ब्याटल’ हिट भएसँगै प्रकाशलाई धेरै चलचिबाट अफर आएका थिए । ‘बोल माया र गलबन्दी’को सफलताले उनलाई चलचित्र मेकिङको पनि अफर नआएको होइन । तर, आफूलाई मन पर्ने चलचित्र नपाएपछि उनी पछि हटेका थिए । प्रकाश भन्छन्–‘यो चलचित्रमा भने टिम पनि राम्रो हुनुहुन्छ । चलचित्रको विषयबस्तु पनि राम्रो छ । त्यसैले काम गर्न तयार भएको हुँ ।’ ‘परदेशी २’ ले वैदेशिक रोजगारमा लागेका युवाहरुको कथा भन्नेछ ।
चलचित्रको अहिले कथामा काम भैरहेको छ । चलचित्रको लागि नायिकाको खोजी भने भैरहेको छ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षले लिएको छ ।