चन्द्रौटा । हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रौटाको आयोजनामा चौथो रक्तदान र निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको छ ।
चन्द्रौटास्थित आवर मदरल्याण्ड एकेडेमी प्राङ्गणमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आयोजित रक्तदान कार्यक्रममा बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो । रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले चौथो पटक रक्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।हामीले दान गरेको रगतबाट जो कोहीले पनि जीवनदान पाउने विश्वासका साथ रक्तदान जस्तो पुण्य कार्यलाई निरन्तरता दिएको सुवेदीले बताए । यसैगरी सोही कार्यक्रमस्थलमा रण अम्बिका शाह आँखा अस्पताल कृष्णनगर शाखाको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५० बढीले आँखा जाँच गराएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिए । आँखा जाँचका क्रममा २६ जनामा मोतिया विन्दु फेला परेको बताइएको छ । मोतिया विन्दुको कृष्णनगरमा निःशुल्क सल्यक्रिया हुने आयोजक संस्थाका अध्यक्ष सुवेदीले जनाएका छन् ।